Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशी नदीको बहाव यस वर्षकै उच्च, स्थानीय त्रसित

चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ।

केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन्। कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लोपटक अपरान्ह ५ बजे मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ। सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको छ।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सप्तरी, सुनसरी र उदयपुरका स्थानीयहरु त्रसित बनेका हुन्। कोसीको बहाव बढदै गएपछि सुनसरीको चतरा, श्रीलंका टापु क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ सिसौली उत्तर लाहुरेको खोजभन्दा २ सय मिटर दक्षिण तिब्र कटान थालेको छ।

कटान तिब्र भएकाले धार परिवर्तन गरी कोशी बस्तीमा पस्ने भन्दै बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ का साथै सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकाका नागरिकलाई सजक रहन अनुरोध गरेका छन्।

उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिले तत्काल ३ सय मिटर कटान क्षेत्रमा तटबन्ध गर्ने भएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले टापु क्षेत्रका केही स्थानमा नदीले पुनः कटान गरेको बताए।

भारी वर्षाको सम्भावना रहेको र चतरा क्षेत्रमा कटान भइरहेको जानकारी दिँदै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले सप्तरीको सप्तकोसी, कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाको कोसी किनारका बस्ती तथा होचा स्थानहरुमा कटान हुने तिब्र सम्भावना रहेको बताए।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077