Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अर्थमन्त्रीले करको दर हेरफेर गरेको भन्दै विपक्षीले गरे संसद बैठक अवरोध

अर्थमन्त्रीले करको दर हेरफेर गरेको भन्दै विपक्षीले गरे संसद बैठक अवरोध

सोमवार , जेठ २५, २०८३

काठमाडौं । आर्थिक विधेयकमा अर्थमन्त्रालयले गरेको करको दर हेरफेरको विषय संसद बैठकमा उठेको छ । यो विषयलाई गम्भीर रुपमा लिँदै नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्याल र राप्रपा सांसद ज्ञानबहादुर शाहीले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

संसद बैठक सुरु हुने वित्तिकै एमाले सांसद अर्यालले भनिन्–‘आर्थिक विधेयकको १६ पृष्ठ गायब भयो । करका दर हेरफेर भएको छ ।’

त्यसैगरी राप्रपा संसदीय दलका नेता शाहीले पनि करको सूचना कसरी चुहावट भयो ? भन्दै प्रश्न गरे । उनले भने–‘करका दर हेरफेरको विषय कसलाई थाहा हुन्छ । सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन । तर आज सूचना लिक भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रन्छ । १४ गते भन्सार पास गरिन्छ । २० गते गाडी आउँछ । अनि चुवावट चाहिँ कसले गर्‍यो ?’

संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकका  १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।

अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो । संसदमा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।

संसद्का जानकारहरूका अनुसार संसदमा पेश भइसकेको विधेयकमा संशोधन गर्न संसद्को अनिवार्य स्वीकृति चाहिन्छ । संसदमा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसदमा संशोधन ल्याउनुपर्ने हुन्छ । 

संसद्‍मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानून छैन । तर, अर्थ मन्त्रालयले आफूखुसी सच्याएर राखेको भन्दै प्रतिपक्षी दलहरुले विरोध गर्दै आएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077