काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलसम्बन्धी अध्यादेशले कांग्रेसलाई कुनै असर नगर्ने बताएका छन्।
आइतबार नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउन भूमिका खेलेको भन्दै त्यो अध्यादेश प्रधानमन्त्रीकै पार्टीका लागि प्रत्युत्पादक भए के हुन्छ ? भन्ने प्रश्नको जवाफमा पौडेलले यतो बताएका हुन्।
अध्यादेशका कारण कांग्रेस फुट्छ भन्ने भ्रम नपाल्न आग्रह गर्दै पूर्वसभामुख समेत रहेका पौडेलले भने, ‘साथीहरुलाई भ्रम परेको होला, राजनीतिक दल सम्बन्धी अध्यादेशले शेरबहादुरको पार्टी पनि फुट्न सक्छ भनेर , बरिष्ठ नेता पौडेलले भने, 'कांग्रेसको अर्को पक्ष भनेको म हो । मलाई पार्टी फुटाएर सभापति बन्नु, प्रधानमन्त्री बन्नुपर्ने हतारो छैन।'
आफ्नो पार्टीको सभापति चलाख भएको र अध्यादेशले कांग्रेसलाई कुनै असर नगर्नेबारे पौडेलले अघि भने, 'मेरो पार्टीको सभापति चलाख हुनुहुन्छ, आफ्नै पार्टीमा असर गर्छ भनेर राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गराउनु पनि होला,’ पौडेलले भने, ‘तर मलाई त्यस्तो हतारो छैन। त्यस्तो हुँदैन।'