एजेन्सी । संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले महासभाग गरेको भाषणलाई लिएर खान र भारतीय मिसनकी प्रथम सचिव स्नेहा दुबेबीच चर्काचर्की परेको हो ।
खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लिमरहित मुलुक बनाउन खोजेको आरोप लगाएपछि दुबेले त्यसको विरोध गरेकी हुन् ।
महासभामा खानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भारतलाई मुस्लिममुक्त’ बनाउने अभियानमा लागेको आरोप लगाएका थिए । कोभिडसम्बन्धी सावधानीका कारण भिडियोमार्फत् गरिएको सम्बोधनमा खानले भनेका थिए–‘इस्लामोफोबिया (इस्लामप्रतिको घृणा, डर वा पूर्वाग्रह) को सबैभन्दा खराब र व्यापक प्रवृत्ति/रुपले यतिबेला भारतमा राज गरेको छ । फासीवादी आरएसएस/विजेपी सत्ताले घृणाले भरिपूर्ण हिन्दूत्वको विचारधारामार्फत् २० करोड भारतीय मुस्लिम समुदायविरुद्ध डर र हिंसाको राज गरिरहेको छ ।’
मोदीको कार्यकालमा भारतको एक मात्र मुस्लिम बाहुल्य क्षेत्र काश्मिरले पाउँदै आएको विशेष राज्यको हैसियत खारेज भएको छ । मोदी सरकारको उक्त कदमको पाकिस्तानले विरोध गर्दै आएको छ ।
यता, शुक्रबार राष्ट्रसंघका लागि युवा भारतीय कुटनीतिज्ञ एवं भारतीय मिसनकी प्रथम सचिव स्नेहा दुबेले उनले पाकिस्तानमाथि अलकायदाका मास्टरमाइण्ड एवं अमेरिकी विशेष फौजको कारबाहीमा अबोटावादमा मारिएका ओसामा बिन लादेनलाई आश्रय दिएको र जयजयकार गरेको आरोप लगाएकी थिइन् ।
दुबेले आलोचना गर्दै भनिन्–‘यो (पाकिस्तान) त्यही मुलुक हो जसले अग्निनियन्त्रकको भेषमा आगो लगाउने गर्छ । पाकिस्तानले छिमेकीलाई मात्रै हानी गर्ने ठानेर आफ्नो आँगनमा आतंकवादी हुर्काउने गर्छ ।’
दुबेले पाकिस्तानका अल्पसंख्यकविरुद्धको हिंसासँगै सन् १९७१ मा बंगलादेश स्वतन्त्र हुने बेलामा भएको ‘धार्मिक एवं साँस्कृतिक नरसंहार’माथि समेत जोड दिएकी थिइन् । उनले भनिन्–‘भारत पाकिस्तान जस्तो मुलुक होइन । भारत एउटा बहुलवादी लोकतन्त्र हो जहाँका अल्पसंख्यक देशको उपल्लो तहसम्म पुगेका छन् ।’
मोदीको कार्यकालमा काश्मिरले पाउँदै आएको विशेष राज्यको हैसियत खारेज भएको विरोधमा खानको उक्त भनाइको जवाफ दिँदै दुबेले युनियन टेरिटरी जम्मू–काश्मिर र लद्दाख सधैंभर भारतको अभिन्न अंग रहने बताइन् । एजेन्सीको सहयोगमा