Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दिनदहाडै अदालतको गेटमै व्यापारीमाथि खुकुरी प्रहार

विराटनगर । उच्च अदालत विराटनगरको गेटमै दिनदहाडै एक व्यापारीमाथि खुकुरी प्रहार भएको छ । आइतबार बिहान मात्रै विराटनगर आइपुगेका काभ्रेका युवा व्यापारी ३२ वर्षीय कलामसिंह लामामाथि अपरान्ह  खुकुरी प्रहार भएको हो ।

आइतबर विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल-फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था खतरामुक्त रहेका उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

लामाको मोरङको कटहरी गाउँपालिका-६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लगानी छ। उनको काठमाडौंमा सहकारी पनि रहेको बताइएको छ ।

लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका-११ का २७ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा प्रयोग भएको खुकुरीसहित भाग्दै गर्दा कार्कीलाई विराटनगरको कोसी अस्पतालनजिकबाट पक्राउ गरिएको हो।  घटनामा संलग्न अर्का एक युवा फरार छन् । पहिचान खुल्न बाँकी रहेका ती युवाको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार लामाका साझेदार महम्मद साजिद मियाँले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले  उद्योगको कारोबार रोकिदिएको थियो । प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए । लामाका व्यावसायिक साझेदार साजिदलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

साजिदले लगानी नगरेपनि लाइसेन्स प्रयोग गर्न दिएर लामासँग पाँच वर्ष वार्षिक ५० हजार इँटा दिने सहमति गरेका थिए । उद्योगमा साजिद र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो। साजिदले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

तर, पछिल्लो समय साजिदले हिसाबकिताब नदेखाएको भन्दै  जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । त्यसपछि दुबै जनाबीच बिबाद उत्पन्न भएको थियो। कारोबार फुकुवाको मागसहित मुद्दा दर्ताको तयारी गरेर निस्कँदा लामामाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077