Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अपहरणमा परेका भारतीय नागरिकको सप्तरीबाट उद्धार

सप्तरी । अपहरणमा परेका एक भारतीय नागरिकलाई सप्तरीबाट प्रहरीले उद्धार गरेको छ । अपहरित भारतीय नागरिकको सप्तरीको बलान बिहुल गाउँपालिकाबाट शनिबार उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

अपहरणमा परेका भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको लौकाहा ग्राम पन्चायत वडा नम्बर ९ बस्ने २२ बर्षका शंकरकुमार साहको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बलान बिहुल गाउँपालिका वडा नम्बर ५ रामनगरस्थित नेपाल भारत सीमानजिक झाडीमा खुट्टामा साङ्लोले बाँधेर राखिएको अवस्थामा साहको उद्धार गरिएको उनले बताए ।

साहको अज्ञात समूहले अपहरण गरी नेपालको दशगजातर्फ लगेको सूचना भारतीय प्रहरीले दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपहरितको खोजी गरेको थियो ।

अपहरित साहलाई उद्धार गरिएपनि अपहरणकारी फेला नपरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।

उक्त स्थानमा एनसेल कम्पनीको नेपाली सिमकार्ड प्रयोग भएको एउटा मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077