काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिमा हेरफेर गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रवक्ता महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराको भनाइ छ ।
त्यस्तै मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।
यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५–२५ सदस्यीय गठन गरेको छ । निर्वाचन आयोग विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशल कुमार खतिवडाको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ ।
भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय गठन गरिएको प्रवक्ता महराले जानकारी दिए ।