काठमाडौं । कतारविरुद्धको टी २० सिरिज अन्तर्गत पहिलो खेलमा नेपाली महिला टिमले कीर्तिमानी जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले कतारलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको हो।
नेपालले टी २० आईमा जित निकालेको यो रनका आधारमा यो अहिलेसम्म कै फराकिलो जित हो। यसअघि सन् २०१९ मा इन्डोनेसिया विरुद्ध नेपालले ९२ रनको फराकिलो जित निकालेको थियो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो। टी २० अन्तराष्ट्रियमा यो अहिलेसम्म कै उच्च योगफल हो। नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेल्दै ५५ रन बनाइन्। सिता रानामगरले ३९ रनको योगदान गरिन्।
इन्दु बर्मा महिला टी २० आई सिरिजमा अर्धशतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेकी छिन्। ्
नेपालले दिएको १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११ ओभर पाँच बलमा मात्र २७ रनम अलआउट भयो। कतारका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि बलिङमा रुविना क्षेत्रीले तीन, कविता कुवँर र सिता रानामगरले दुई दुई विकेट लिए।