एजेन्सी । अमेरिकामा एक स्कूलमा एउटा घातक गोलीकाण्ड भएको तीन दिन नबित्दै एक सांसदले आफ्ना परिवारले सैनिक राइफल भिरेको क्रिसमस फोटो राखेपछि उनको चर्को आलोचना भएको छ।
केन्टकीका रिपब्लिकन सांसद थोमस म्यासीले उक्त फोटो ट्वीट गर्दै लेखेका थिए, 'क्रिसमसको शुभकामना ! सान्ता कृपया गोलीगठ्ठा ल्याउनुस्।'
गोलीकाण्डका कारण पीडित भएका कैयौं परिवारहरूले उनको उक्त फोटोको निन्दा गरेका छन् । रिपब्लिकन एवं डेमोक्र्याटिक दलका नेताहरूले पनि त्यसको भर्त्सर्ना गरेका छन्।
उनीसँग थप प्रतिक्रियाका निम्ति पनि सम्पर्क गरिएका छन्। विवाद सुरु भएपछि सांसद म्यासीले आफूलाई समर्थन गरिएका तथा आलोचना गरिएका सन्देशहरू रिट्वीट गरिरहेका छन्। कतिपयले उनलाई 'असम्वेदनशील' भनेका छन्।
केही दिन अगाडि मिशिगन राज्यमा एउटा स्कूलमा एक १५ वर्षीय विद्यार्थीले आफ्ना बुवाको बन्दूक जथाभावी चलाउँदा चार किशोरकिशोरी मारिएका थिए भने सातजना घाइते भएका विवरण आएका छन्।
ती सन्दिग्ध किशोरका बुवाआमामाथि पनि लापरबाही गरेको आरोप लागेका छन्। यस्तै शृङ्खलाबद्ध गोलीकाण्डहरूका कारण अमेरिकामा बन्दूक अधिकार तथा सम्बन्धित कानुनबारे चर्को बहस छेडिएको छ।
विगतमा भएका स्कूल गोलीकाण्डहरूमा मारिएका विद्यार्थीका परिवारले पछिल्लो फोटोको चर्को विरोध गरेका छन्। कंग्रेसम्यान म्यासीले राइफल भिरेका परिवारका सदस्यको फोटो पोस्ट गरेको प्रतिक्रियास्वरूप फ्रेड गुटनबर्गले आफ्नी छोरी जेमी र उनको चिहानको फोटो पोस्ट गरेका छन्।
सन् २०१८ मा फ्लोरिडास्थित पार्कल्यान्ड स्कूलमा भएको गोलीकाण्डमा उनकी छोरी मारिएकी थिइन्। रिपब्लिकन दलका कैयन् नेताहरूले पनि म्यासीको फोटोको निन्दा गरेका छन्।- बीबीसी नेपाली