Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग हो : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् ।

शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले आज दिएको शुभकामना सन्देशमा यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छन् ।

हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेकी छन् ।

ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले सन्देशमा उल्लेख गरेकी छन् ।

मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077