Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रौतहटको गौरमा जन्मिएका माधव नेपाल आजबाट ७० वर्ष लागे

    रौतहटको गौरमा जन्मिएका माधव नेपाल आजबाट ७० वर्ष लागे

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ६९ बर्ष पुरा भएका छन्। नेपालको जन्म वि.सं. २००९ फागुन २३ गते रौतहट जिल्लाको गौरमा एक उच्च ब्रामण कुलमा भएको हो।

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल हाल भने काठमाडौँको कोटेश्वरमा बस्दै आएका छन् । ७० औं जन्मदिनको अवसरमा उनलाई नेता/कार्यकर्ताले बधाई तथा शुभकामना दिएका छन् ।



    ‘इमान, निष्ठा, क्रियाशिलता, संघर्ष र सादगीपनलाई आफ्नो जीवन आदर्श बनाउॅदै सहज जीवन त्यागेर मुलुक र जनताको मुक्तिका लागि समर्पित व्यक्ति, समकालिन नेपाली राजनीतिका शीर्ष व्यक्तित्व, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री कमरेड माधवकुमार नेपाललाई ६९ बर्ष पूरा गरी ७० औं बर्ष प्रवेशको अवसरमा जन्मदिनको हार्दिक शुभकामना,’ नेपालका निजि सचिव मोहन गौतमले फेसबुकमा लेखेका छन्।



    नेपालको पिताको नाम मंगलकुमार उपाध्याय र आमाको नाम दुर्गादेवी उपाध्याय हो । उनी तीन दाजुभाइमध्ये जेठो हुन् । उनले गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गरेका हुन् । वि.सं. २०२२ सालमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भएका नेपालले राजनीतिसुरु गर्नुअघि बैँकमा जागिर पनि खाएका थिए।

    तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले वि.सं. २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए । वि.सं. २०२८ सालमा सङ्गठन विस्तारका लागि काठमाडौँ आएका नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव भए । उनमा माथिल्लो सदन राष्ट्रियसभाको प्रतिपक्षी दलको नेताको अनुभव पनि छ । उनी त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यमा स्नातक हुन् । उनलाई नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजी भाषाको राम्रो ज्ञान छ।

    नेपालले सन् १९९१-९३ अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी वा सम्मेलनमा भाग लिएका थिए । सन् १९९० मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य थिए भने त्यसपछिका २-३ वर्षमा राष्ट्रिय विकास परिषद् र राष्ट्रिय जलस्रोत विकास परिषद्को पदेन सदस्य भए । नेपाल सन् १९९३ मा नेकपा (एमाले)को विदेश मामिला विभागका प्रमुख थिए।

    त्यस्तै, केही वर्षअघि नेकपा (एमाले)ले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि भए । नेपाल सन् १९९० मा संयुक्त वाम मोर्चाको सदस्य र सन् १९९१ मा नेकपा (एमाले)को केन्द्रीय सङ्गठन समितिका पोलिटब्यूरो सदस्य थिए । सन् १९७८ मा उनी नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य थिए।

    नेपाल सन् १९७६ मा राजनीतिक अभियोग-राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष कारावासमा परेका थिए । उनी सन् १९७५ मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१-७४ अवधिमा नेपाल क्रान्तिकारी सङ्गठन (माले) मोरङको जिल्ला सदस्य र १९७० मा वीरगञ्ज एस.टी.आर. कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य थिए।

    यसैगरी, नेपाल नेपालका ३४ औं प्रधानमन्त्रीको रुपमा विसं २०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म कार्यरत रहे भने त्यसअघि उनी तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा विसं २०५१ मंसिर १४ – २०५२ भदौ २७सम्म उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री समेत रहेका थिए ।

    हाल एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपालले देशभित्रका सबै जिल्लाहरुका भ्रमण गरिसकेका छन् । नेपालले देश बाहिर पनि थुप्रै देशहरुको भ्रमण गरेका छन्र। जसमा भारत, चीन, फिलिपिन्स, अमेरिका, बङ्गलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलङ्का, माल्दिभ्स, स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्टि्रया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तानलगायत छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार