Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

८ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा वडाध्यक्ष गजबहादुरविरुद्ध उच्च अदालतमा मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सर्केगाड गाउँपालिका वडा नं. ३, हुम्ला का वडाध्यक्ष गज बहादुर रावतसहित ४ जनाविरुद्ध उच्च अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आज एक विज्ञप्ति जारी गरी गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वडाध्यक्ष रावतलगायतले भ्रष्टाचार गरेको देखिएको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।

आयोगले वडाध्यक्ष गज बहादुर रावत, गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र गाउँपालिकाका तत्कालीन लेखापाल सुरत बहादुर रेश्मीसमेतले नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भरपाई तयार गरेको, बिभिन्न व्यक्तिहरुले रकम बुझेको भरपाई बनाई, प्राप्त बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीको लागि सिफारिस गर्नुको साथै भुक्तानीसमेत गरी नेपाल सरकारलाई गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियतले कागजात तयार गरी भुक्तानी लिई ८ करोड हिनामिना गरेको जनाएको छ ।

आयोगले चारै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) मा व्यवस्था भएबमोजिमको कसुरमा आठ लाख बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) मा उल्लेख भएबमोजिमको अधिकतम कैद तथा खुल्न आएको विगो प्रतिवादीहरूबाट असुलउपर गरी बिगोबमोजिमको जरिवानासमेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077