Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जुगल गाउँपालिकाका चार कर्मचारीसहित ६ जनाको टाउकोमा साँढे ३६ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे र लेखापाल सतेन्द्र यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

त्यस्तै बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा विरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीको भनाइ छ ।

जुगल गाउँपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदनका आधारमा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता भएको अख्तियारको ठहर रहेको छ ।

जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४/७५ मा झूटो विवरणको आधारमा रकम भुक्तानी गरेको देखिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार मापदण्ड बमोजिम निर्माण नगरी हचुवाको भरमा काम  गराइएको र डोर हाजिर तथा माइन्युटमा पनि कीर्ते हस्ताक्षर गरेको भेटिएको छ ।

अख्तियारले अधिकृत अर्याल, इन्जिनियर पौडेल, सब इन्जिनियर घिमिरे र लेखापाल यादवबाट अनियमितता भएको रकम बराबरको बिगो कायम गरी कैद र जरिवानासहित बिगो असुल गर्न  माग गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष शाक्य र कोषाध्यक्ष लामाविरुद्ध पनि सोही रकम बराबरको बिगो कायम गरी कैद वा जरिवाना गरी बिगोसमेत जफत गर्न माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077