दाङ । दाङमा जुवा खेलिरहेको अवस्थामा सात जुवाडे पक्राउ परेका छन् । तुलसीपुरको एक होटेलबाट एक लाख बढी रकमसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको नेतृत्वमा पुगेको प्रहरी टोलीले उनीहरुलाई एक लाख दुई हजार ३६० रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका १ घर भई हाल बबई गाउँपालिका-१ बस्ने ४१ वर्षीय टोपबहादुर बोहरा, त्रिवेणी १ का ३७ वर्षीय श्रर्मराज थापा, त्रिवेणी– २ कारागिठीका ३६ वर्षीय गुमानसिंह बुढाथोकी, तुलसीपुर ५ बसपार्कका ४१ वर्षीय गुणबहादुर चलाउने छन् ।
त्यसैगरी शारदा– १० पैंयाखर्कका २६ वर्षीय जितबहादुर चलाउने, ३४ वर्षीय अमरराज खड्का र तुलसीपुर-५ बसपार्कमा रातामाटा होटेल संचालन गर्दै आएका ३५ वर्षीय सेतिराम बुढाथोकीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको छ ।