Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बीरेन्द्रनगरको जन नमूना माविका कागजात र नगद रुपैयाँ अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-६ स्थित श्री जन नमूना माध्यमिक विद्यालयका कागजातहरु नियन्त्रणमा लिएको छ ।

विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको उजुरीका आधारमा अख्तियारको टोलीले दुई लाख ७६ हजार ६९० रुपैयाँ र सो सँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको हो ।

विद्यालयले कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीहरुबाट नेपालको संविधान, उच्च अदालत सुर्खेतको मिति २०७८।०८।०१ को परमादेश र मिति २०७८।०२।२३ को अन्तरिम आदेश विपरित विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको आरोप छ ।

सोही उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट गएको टोलीले उक्त विद्यालयबाट बिना रसिद बिभिन्न विद्यार्थीहरुबाट लिइएको दुई लाख ७६ हजार ६९०रुपैयाँ असुल गरिसकेको अवस्थामा सो रकम र सम्बन्धित कागजातहरु आज नियन्त्रण लिएको हो ।

रकम र सम्बन्धित कागजातहरु नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । साथै नेपाल सरकारले निःशुल्क घोषणा गरेका अन्य सामुदायिक विद्यालयहरुले समेत बिना रसिद विभिन्न नाममा विभिन्न कक्षाहरुमा शुल्क असुल गरेको भन्ने उजुरी उपर आयोगका कार्यालयहरु समेतबाट छानबिन भइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077