काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले चार्जिङ स्टेशन निर्माण र संचालन सम्बन्धी भएको सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयहरूमा चार्जिङ स्टेशन विस्तार गर्न समेत आग्रह गरे ।
विद्युत चोरी, विद्युतीय पोल चोरी लगायतका विषयमा विद्युत प्राधिकरणसँग यसभन्दा अगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनहरुको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताए ।
यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेकोमा यसमा नेपाल प्रहरीको भूमिका सबै भन्दा बढी प्रभावकारी रहने भएकोले यस सम्झौताले आगामी दिनमा नेपाल प्रहरीसँग प्रभावकारी रुपमा सम्बन्ध स्थापना हुने कुरामा विश्वास व्यक्त गरे ।
चार्जिङ स्टेशन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न नेपाल प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उनको भनाई छ । कार्वन उत्सर्जनबाट वायुमण्डल, पर्यावरण र जीवजन्तुमा पर्न गएको नकारात्मक असरले विश्वलाई नै चिन्तित बनाइरहेको अवस्थामा कार्वन फुटप्रिन्टलाई कम गर्न विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेका विद्युतीय सवारी साधनहरूलाई सहज रूपमा चार्जिङ सुविधा उपलब्ध गराउन यो सम्झौता भएको हो ।