काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको बताएका छन् ।
सोमबार बिहान काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् ।
सिंहले भने, ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्।’ जनताको चाहना पूरा गर्न आफूले प्रयास गरिरहेको उनले बताए ।
आफूले क्षेत्र नं १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताए ।
अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायीत्व रहने भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए ।
मुलुक विशिष्ट परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले अग्रगमनको पक्षमा कि प्रतिगमनको पक्षमा मत दिने भनेर विचार पुर्याउन आह्वानसमेत गरे ।