धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार राति अबेर बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी ले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै कुल ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याइएको जानकारी दिए।
सरकारले बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक राजस्व, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, अनुदान तथा चालु आर्थिक वर्षको बचत रकमलाई मुख्य आधार बनाएको छ।
बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ भने नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
यस्तै, संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ, तथा आर्थिक वर्ष २०८२र८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड रुपैयाँ बजेटको स्रोतका रूपमा समावेश गरिएको छ।
त्यसैगरी, ससर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री धामीले बताए।
प्रदेश सरकारले आगामी बजेटमार्फत पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। बजेटमाथि प्रदेशसभामा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।