काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई विनायोजना हटाउन खोज्नेहरुलाई आगामी चुनावमा परास्त गर्न आह्वान गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भने, ‘अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र
भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्छ । प्रतिवेदन नआएसम्म हामी सकेसम्म प्रतिक्षामा बस्नुपर्छ ।’
भूमि आयोगको प्रतिवेदन नआएसम्म र त्यसमा सरोकारवाला सहमत नभएसम्म उनीहरुलाई जबर्जस्ती हटाउन नपाइने उनको भनाइ छ ।
आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले काठमाडौं जिल्लाको भूमि आयोगले प्रतिवेदन नदिएसम्म जबरजस्ती हटाउन नपाइने बताए ।
भूमि आयोगले प्रतिवेदनमा सरोकारवालासँग पनि बसेर छलफल गर्ने र समस्याको समाधान निकाल्ने उनले आश्वासन दिए । उनले भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान लोकतान्त्रिक-वाम गठबन्धनले मात्रै गर्ने जिकीरसमेत गरे ।