काठमाडौं । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतपरिणाम १३ गतेसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगले जनाएको हो ।
पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।
त्यस्तै, नेकपा एमाले ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ ।
नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सातरसात, जनता समाजवादी पार्टी नेपालले छ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ ।
स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् ।
हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने आयोगले जनाएको छ ।