Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता नेपाल प्रहरी खेलाडीलाई सम्मान

काठमाडौं । नेपाल प्रहरीले नवाँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आज सम्मान गरेका हुन् ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे । प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गरेकै कारण सङ्गठनको गरिमा उँच्चो हुँदै आएको बताए ।

प्रहरीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा खेलाडीले गरेको कडा परिश्रम, मेहनत, लगनशीलता र खेलकुदप्रतिको समर्पण भावको उच्च प्रशंसा गरे । उनले खेलाडीले सफलता पछाडिको सङ्घर्ष, त्याग, तपस्या र साधना कायम राख्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

आफूभित्रको सम्भावनालाई निखार्दै अझ सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गरी व्यक्तिगत उपलब्धिका साथै सङ्गठनको श्रीवृद्धि, वृहत्तर हित र संस्थागत विकासमा योगदान दिन खेलाडीलाई उनले आग्रह गरे ।

प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पदक विजेता खेलाडीको उच्च योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले प्रहरीले विभिन्न खेलकुद गतिविधिमा सहभागी हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।

वि।सं २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित उक्त प्रतियोगितामा नेपाल प्रहरीका तर्फबाट सहभागी खेलाडीहरूले ६१ स्वर्ण, ६१ रजत र ७२ कास्य गरी कूल एक सय ९४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

विजेता खेलाडीलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई रु १० हजार, रजत पदक विजेतालाई रु सात हजार र कास्य पदक विजेतालाई रु पाँच ५ हजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077