काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज बुझाउने भएको छ ।
आयोगले दिएको जानकारीअनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ र समानुपातिकतर्फ सबै सदस्यको परिणाम आएपछि आयोगले आज सो प्रतिवेदन बुझाउन लागेको हो ।
आयोगले समानुपातिकतर्फको सदस्यहरू निर्वाचित भएको जानकारी बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आयोगले राष्ट्रपतिसमक्ष निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।
यसैबीच, निर्वाचन आयोगले देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गर्ने जनाएको छ ।
निर्वाचन परिणामबमोजिम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। जसमा प्रतिनिधि सभातर्फ १८४ जना पुरुष निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
प्रदेश सभातर्फ ३५० जना पुरुष निर्वाचित भएका छन्। आयोगको अन्तिम परिणामबमोजिम प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कुल ८२५ जना निर्वाचित भएका छन्।