काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि संघदेखि प्रदेशसम्म नयाँ सरकार गठनको ढोका खुलेको हो ।
संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले अब सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ । प्रतिनिधि सभामा कुनै राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन नसकेकाले अब धारा ७६ को उपधारा २ अन्तर्गत २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गर्ने सम्भावना छ ।
आयोगले प्रतिवेदन बुझाएपछि राष्ट्रपतिबाट संघीय संसद सचिवालयलाई नवनिर्वाचित सांसदहरूको विवरण पठाउने व्यवस्था छ ।सांसदको विवरण आएपछि वर्तमान सरकारले प्रतिनिधिसभा बैठक आव्हानका लागि मिति तोक्दै राष्ट्रपतिलाई सिफारिस गरेपछि संसद् बैठकको आह्वान हुने कानूनी व्यवस्था छ ।
बैठक आह्वानपछि संसद बैठकमा जानुअघि नै नवनिर्वाचित सांसदको सपथ गराउनुपर्छ । निर्वाचित भएर आएका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट सपथ लिएपछि उनले अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउने व्यवस्था छ ।
उमेरले जेष्ठताको आधारमा राप्रपाबाट समानुपातिकतर्फबाट आएका पशुपतिशमशेर जबराले सांसदहरूको सपथ गराउने छन्। विक्रम सम्वत् १९९८ साल वैशाखमा जन्मिएका राणा ८१ वर्षको भइसकेका छन् ।
सपथपछि मात्रै सांसदहरूलाई प्रतिनिधिसभा सदस्यको लोगो दिइनेछ । सांसदले सपथ लिएपछि ज्येष्ठ सदस्यले अर्को दिनको लागि बैठक आह्वान गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्छ ।
संविधानको धारा ९३ को उपधारा (१) मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संसद बैठक आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ ।
आयोगले अन्तिम परिणाम बुझाएको ३० दिनभित्र उपधारा २ अनुसारको सरकार नबनेमा संसदको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनको प्रक्रिया शुरू हुनेछ ।