काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति नन्दबहादुर पुनलाई मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ।
उपराष्ट्रपति पुनलाई उनको कार्यालय लैनचौरमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन बुझाएका हुन्। आयोगले आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन नतिजाको प्रतिवदेन बुझाएको थियो।
सो अवसरमा उपराष्ट्रपति पुनले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताए।
उपराष्ट्रपति पुनले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गरेकोमा आयोगलाई धन्यवाद दिए।
त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको सारसंक्षेप, अशल अभ्यास एवं चुनौतीबारे अवगत गराएका थिए।
आयोगले निर्वाचनको परिणामको प्रतिवेदन राष्ट्रपति र उपराष्ट्रपतिलाई बुझाएसँगै सरकार गठनको बाटो खुलेको छ।