Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबलको सट्टेबाजी गराउने थप दुई जना पक्राउ, ३ करोड बढी कारोबार

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् ।

आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको काठमाडौं अपराध अनुसन्धान कार्यालयले जनाएको छ । चौगुठीको २५ वटा बैंक खाता भएकामा हालसम्म प्राप्त ८ वटा खाताको विवरणमा मात्रै २ करोड ४५ लाख ७१ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको देखिएको कार्यालयले जनाएको छ ।

भेलेको विभिन्न १९ वटा खाताको विवरण मागिएकामा ५ वटा बैंकको विवरण प्रहरीले पाएको छ । त्यसमा ६ महिनामा ६० लाख २९ हजार ९१५ रुपैयाँको कारोबार भएको देखिएको छ ।

विश्वकप फुटबल अन्तर्गत आइतबार राति अर्जेन्टिना र फ्रान्सको बिचमा फाइनल खेल हुँदै छ । यसअघि कार्यालयले पक्राउ गरेका ललितपुरका २१ वर्षीय आदर्श ठाकुरले पनि वान एक्स बेटमार्फत २ करोड रुपैयाँ बढी कारोबार गरेको देखिएको थियो ।

अपराध अनुसन्धान कार्यालयले यसअघि सट्टेबाजी धन्दामा संलग्न पाल्पाका रुद्र प्रसाद पोखरेल र भारतीय नागरिक पवन कुमार शर्मा सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077