काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्।
भारतीय विदेश मन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणका लागि मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली पुगेका हुन्।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा। सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका छन्।
यसपछि मन्त्री खनालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्य तालिका छ । भेटका क्रममा नेपाल-भारत सम्बन्धका विविध आयाम र साझा हितका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
यसैगरी वार्तामा विशेषगरी व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा कनेक्टिभिटी विस्तार, साथै दुई देशका जनताबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयहरू प्राथमिकतामा रहनेछन्।
नेपाल र भारतबीच पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, सीमापार पूर्वाधार विकास, रेल तथा सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा सहकार्य बढ्दै गएको सन्दर्भमा यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।
यसैबीच उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
औपचारिक कार्यक्रमहरू सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्कने कार्यतालिका रहेको छ।
यसअघि रास्वपाका सभापति रवि लामिछाने पनि पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गरेको जनाइएको छ।