Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती विमान दुर्घटना : रूपावासीको गौरवका रूपमा परिचित थिए पाइलट कमल

पोखरा । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रूपा गाउँपालिका शोकमा डुबेको छ ।

केसीको निधनले परिवारजन त पीडामा छन् नै आफ्नो गौरव गुमाउनुपर्दा उनको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन् । केसीको रूपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो ।

उनलाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गरेका उनका गुरु अग्रज पत्रकारसमेत रहेका बद्रीविनोद प्रतीक आफूलाई आजको दिनमा केसीको निधनको खबरले मर्माहत बनाएको बताए ।

केसीले हालको रूपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गरेको प्रतीकले बताए । उनले भने, “कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनती र अनुशासित थिए । आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ ।”

पाइलट बनेपछि समेत केसीसँग पटकपटक भेटघाट हुने गरेको प्रतीकले सुनाए । “भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौँ । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ ।”

उमेरले ६ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित थिए । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन् ।

केसी रूपा गाउँपालिकाबाट पहिलो पाइलट बनेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । “उहाँकै प्रेरणाबाट पछि रूपाबाट अरू पनि पाइलट बन्नुभएको छ,” उनले भने, “केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।” रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077