काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न नेकपा माओवादी केन्द्रले ह्वीप जारी गरेको छ।
प्रमुख सचेतक हितराज पाण्डेले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरेका हुन् ।
सत्ता गठबन्धनसँगको सहमति पालनामा प्रधानमन्त्रीले दृढता व्यक्त गर्नुभएअनुसार नै पार्टीले गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरेको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन्। तीमध्ये वर्षमान पुन अस्पतालमा उपचाररत छन्।
यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि सभामुखमा घिमिरेलाईनै मत दिने भएको छ। नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्।