काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यस्तै आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया शुरु हुने जनाएको छ ।
सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै गर्ने आयोगले बताएको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, १० र ११ गते दाबी, बिरोध र उजुरी, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने कार्यतालिका रहेको छ ।
आयोगले १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, १३ गते मनोनयन पत्र दर्ता गर्ने, १३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने, १४ गते उम्मेदवारको बिरुद्धमा उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने जनाएको छ ।
त्यस्तै १५ फागुनमा उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने २५ फागुनमा मतदान गर्ने छ ।
त्यस्तै उपराष्ट्रपतिको निर्वाचन ३ फागुनमा हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता २७ फागुनमा दर्ता हुनेछ ।
२८ फागुनमा दावी विरोधको समय दिइएको छ र सोही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो २८ फागुनमा सकिँदैछ । राष्ट्रपतिको कार्यकाल ४ दिन बाँकी हुँदै निर्वाचन हुन लागेको हो ।