Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेका कारण विवादमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे। फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए। उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

कुरुक्षेत्रको युद्धमा कौरव पक्षका प्रधानसेनापति द्रोणाचार्यले पाण्डव पक्षलाई कमजोर पार्न चक्रव्यूहको रचना गरेका थिए। उक्त चक्रव्यूहभित्र पस्ने र छिचोल्ने सामथ्र्य पाण्डव पक्षतर्फ अर्जुनमा मात्र थियो।

यसकारण अर्जुनलाई अल्झाएर टाढा पुर्‍याइयो। अर्जुनपुत्र अभिमन्यु चक्रव्यूहभित्र छिर्न त सक्थे तर बाहिर निस्कने सीप उनमा थिएन। यही कमजोरीमा कौरव पक्षको समस्त महारथीले अभिमन्युलाई घेराबन्दीमा हालेर हत्या गरेका कथा महाभारतमा पाइन्छ।

रास्वपा सभापति लामिछानेले यही कुरालाई इंगित गर्दै आफू अभिमन्यु नभएको टिप्पणी गरेका छन्। तर आफूलाई कसले घेराबन्दीमा हाल्यो ? त्यो भने उनले पूर्ण रूपमा खुलाएका छैनन्। उनी पछिल्ला केही दिनयता आलोचनाको केन्द्रमा छन्।

आफ्नै पार्टीभित्रबाट आलोचना हुन थालेपछि सम्भवतः उनको यस्तो अभिव्यक्ति आएको हुनसक्छ। लामिछानको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि रास्वपा पनि विवादको भुमरीमा परेको छ। पार्टीका नेताहरू ‘अब के गर्ने ?’ भन्ने विषयमा तीन समूहमा विभक्त भएका छन्।

नेतृत्वका विषयमा नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन्। सर्वोच्च अदालतको फैसलाले गुमेको उपप्रधान तथा गृहमन्त्री पद पाउन लामिछानेले गरेको दौडधुप र त्यसले सिर्जना गरेको राजनीतिक तरंग नै अहिले रास्वपाभित्र विवादको मूल कारण बनेको छ। लामिछानेले लिएको राहदानी पनि विवादमा परेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077