काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आठ दलीय गठबन्धन पाँच वर्ष तलमाथि नहुने बताएका छन्।
आठ दलका बागमती प्रदेश सभा सदस्यहरुका लागि शुक्रबार काठमाडौंमा गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
उनले भने,'कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीसाथ अघि बढ्छ। हाम्रो पार्टीलाई या व्यक्तिालाई क्षति होस् पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट दायाँ बायाँ चल्दैन।
यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ। पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन । कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन।'
उनले यो गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजेको पनि आरोप लगाए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै उनको लहडले ५ वर्ष खेर गएको बताए।