चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि रास्वपाको एकल सरकार बन्ने दाबी गरेका छन् ।
चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि घरदैलो कार्यक्रममा रहेका लामिछानेले ६ महिनामै २० सिट जितेको भन्दै ५ वर्षमा दुईतिहाइ जितेर रास्वपाको एकल सरकार बनाउने दाबी गरे ।
सभापति लामिछानेले भने, ‘भकुण्डोमा जति हावा हालिन्छ, त्यति माथि उफ्रन्छ । हामीलाई जति गिराउन खोजिन्छ, हामी त्यति माथि उठ्छौं । त्यसैले एकका विरुद्ध हामी ३ जना संसद्मा छिर्ने बाटोमा छौं । ६ महिनामा २० सिट जित्यौं । ५ वर्षमा दुईतिहाइ जित्न सक्छौं । ५ वर्षपछि रास्वपाको एकल सरकार बन्छ । कसैले चाहेर रोक्न सक्दैन ।’
घरदैलो कार्यक्रममा लामिछानेले मुद्दामामिला जे लागे पनि अब रास्वपाले भ्रष्टाचारविरुद्ध आगो बाल्ने पनि बताए ।
उनले भने, ‘यो देशलाई सुन्दर र समुन्नत बनाउने सपना देखेका छौं । नयाँ शक्ति आएर देश बनाउँछ कि हाम्रो बेथितिविरुद्ध बोल्छ कि भनेर डराएका छन् । अब यो रास्वपा व्यक्तिको पार्टी होइन, यो सबैको पार्टी हो।’ यद्यपी लामिछानेविरुद्ध सर्वोच्च अदालतमा भने राहदानी प्रकरणको मुद्धा विचाराधिन अवस्थामा छ ।