काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्दै सञ्चार प्रविधिको सही सदुपयोगका लागि चेतनामूलक कार्यक्रमसँगै नीतिगत व्यवस्था गर्न आवश्यकता औंल्याए ।
‘सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँका रूपमा परिणत गरे पनि प्रविधिको उपयोगलाई विश्वासनीय, सुरक्षित र पहुँचयोग्य बनाउने चुनौती भने यथावत् छ, सूचना प्रविधिको प्रयोग गर्दै नेपालको आर्थिक विकास, समृद्धि र रोजगारी सिर्जनामा काम गर्न सम्भव छ,’ उनले भने ।
विगतको दशकमा दूरसञ्चार क्षेत्रमा भएको नवीनतम प्रविधि, पूर्वाधार विकास र नीतिमा नेपालले राम्रो फड्को मारेको उल्लेख गर्दै उनले प्रविधिले मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।