काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । स्रोतका अनुसार हालै भारत भ्रमण सम्पन्न गरेर फर्किएका मन्त्री खनालको चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको हो ।
मन्त्री खनाल जुन १४ तारिख (जेठ ३१) मा चीन प्रस्थान गर्ने बताइएको छ । भ्रमणका क्रममा १५ र १६ तारिखमा उच्चस्तरीय औपचारिक भेटघाट कार्यक्रम तय गरिएको छ।
भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री खनालले चीनमा रहेका नेपाली डायस्पोरासँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। उनी जुन १७ तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतहरूले बताएका छन्।
तर, परराष्ट्र मन्त्रालयले भने भ्रमणको आधिकारिक मिति र एजेण्डा औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।
यसअघि मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा गएका थिए, जहाँ उनले भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए।