कास्की । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेको बताए ।
उपमहासचिव ज्ञवालीले भने, ‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ किनभने यो सानो ठगी, अपराध मात्रै होइन, नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो । हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष हो, भोलि छानबिनले बताउँला, छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्यौं, तर, अर्को पार्टीले संरक्षण नै गरिराखेको छ ।’
नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्ने उपमहासचिव ज्ञवालीले उल्लेख गरे । उनले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टाचार जुनसुकै तहबाट भएपनि निष्पक्ष छलफल हुनुपर्ने बताए ।