Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

बुढानीलकण्ठ कार दुर्घटना : लापरबाहीपूर्वक कार चलाएको भन्दै पृथ्वी मल्ललाई ४ वर्ष कैद सजाय

काठमाडौं । सवारी ज्यान मुद्दामा पृथ्वी मल्ललाई उच्च अदालत पाटनले ४ वर्ष कैद सजाय सुनाएको छ ।

आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदिश घिमिरेको संयुक्त इजलासले मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको हो ।

तीन वर्षअघि पृथ्वी मल्लले मदिरा सेवन गरेर चलाएको कारको ठक्करबाट बुढानिलकण्ठमा मर्निङवाकमा निस्किएकी लीला देवकोटाको मृत्यु भएको थियो ।

मादक पदार्थ सेवन गरेका र कार चलाउने लाइसेन्स पनि नभएका मल्लले अनियन्त्रित तवरले तीव्र गतिमा चलाएको कारले बूढानीलकण्ठ–५ स्थित फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले पृथ्वीलाई दोषी ठहर गरेपनि ६ महिना कैद र एक हजार रुपैयाँमात्रै जरिवाना गरेको थियो । फैसलामा कम कैद र जरिवाना भएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

दुर्घटनापछि पक्राउ परेका मल्ललाई थुनछेकका क्रममा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले ‘गम्भीर मानसिक रोग लागेको र दमको बिरामी’ भन्दै बुढानिलकण्ठ ‘हिट एन्ड रन’ मुद्दाका अभियुक्त मल्ललाई पाँच लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो ।

मल्लले लापरबाहीपूर्वक चलाएको कारले २०७६ मंसिर २८ गते बिहान १० बजे ठक्कर दिँदा देवकोटाको घटनास्थलमै मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077