काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको थुनछेक बहसमा सरकारी वकिलका तर्फ बहस सकिएको हो । सरकारी वकिलतर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन् ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीहरूलाई थुनामुक्त गरे प्रमाणहरू नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए ।
काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।
३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।