Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस जिल्ला अदालत काठमाडौंमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस जारी छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस भइरहेको हो । प्रतिवादीतर्फका कानुन व्यवसायीलाई बहसका लागि छ दिनको समय दिइएको छ।

मुद्दाको थुनछेक प्रक्रियाअन्तर्गत सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको थियो । सरकारी वकिलहरूले प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल प्रस्तुत गरेका थिए ।

आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले लगायतले बहस गरेका थिए ।

आज सुरुमा केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्ने छन् । थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077