Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खाँणका पीए पक्राउ पर्दा पन्थीको प्रतिवेदन गायब पार्ने रेग्मी शरणार्थी प्रकरणमा कसरी जोगिए ?

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन नै कीर्ते गर्नेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डे नै भएको कुरा प्रष्ट भएको छ । पन्थी कार्यदलको प्रतिवेदनका धेरै अनुच्छेदमा कैची लगाएर आफूखुसी थप्ने र गृहमन्त्रालयको अभिलेखमा समेत त्यही कीर्ते गरेको प्रतिवेदन राख्ने कार्य सचिव टेकनारायण पाण्डेले गरेका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी र त्यतिबेलाका प्रशासन शाखाका प्रमुख शोभाखर रेग्मीले समेत प्रतिवेदन कीर्ते गर्न सघाएका थिए । प्रशासन शाखाबाट पन्थी कार्यदलको सक्कली प्रतिवेदन गायब पार्ने कार्यमा रेग्मीको मुख्य भूमिका रहेको गृहस्रोत बताउँछ ।

खाँणका पीए केसी पक्राउ परी थुनामा छन् तर रेग्मी भने अझै पक्राउ परेका छैनन् । बरु तिनै खाँण गृहमन्त्री हुँदा हर्ताकर्ता रहेका रेग्मीलाई रक्षामन्त्री पूर्णबहादुर खड्काले पुरस्कृत गरेर रक्षामा लगेका हुन् कि खड्काको राजनीति जीवन नै समाप्त गर्नका निम्ति कोही कसैले उनलाई त्यहाँ लगेका हुन् भन्नेबारे कांग्रेस देउवा गुटमा चर्चाको बिषय बनेको छ ।

खाँणको कार्यकालमा गृहको हर्ताकर्ता रहेका रेग्मीको कार्यकक्षमा ठगीका मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारीको बाक्लो आउजाउ रहने गरेको उनलाई चिन्नेहरु बताउँछन् । नेपाली सेनालाई चीनबाट ८ अर्ब रुपैयाँको हतियार खरिद गर्नका लागि एलसी खोल्न अनुमति दिइसकेका रक्षामन्त्री खड्काले निजी सचिवमा रेग्मीजस्ता पात्रलाई छनोट गर्नुले उनको कथनी र करनीमा भारी अन्तर देखिएको छ ।

रक्षा जस्तो संवेदनशील मन्त्रालयमा सूचना चुहावट गर्ने उपसचिव रेग्मीलाई लगिनुले तरह तरहका आशंका पनि उब्जिएको छ । स्रोत थप्छ, उपसचिव रेग्मीको चिनियाँहरुसँग समेत बाक्लो उठबस रहेको बताइन्छ ।

त्यसैगरी, गृहमन्त्रालयको सहसचिवबाट अवकाश पाएकै क्षण खाँणले सल्लाहकार बनाएका सुनिल खनालको समेत नक्कली भूटानी शरणार्थीको चलखेलमा संलग्नता रहेको भए पनि उनलाई समेत प्रहरीले छानबिनको दायरामा ल्याउन सकेको छैन । भूटानी शरणार्थी लगायतका प्रकरणमा खाँणको योजनामा साथ र सहयोग गरेकै कारण सुनिल खनाललाई अवकाश पाएकै क्षण विज्ञ सल्लाहकार बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077