Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • साउने सोमबारको व्रत भोलिदेखि सुरु, पशुपतिनाथमा तयारी पूरा

    साउने सोमबारको व्रत भोलिदेखि सुरु, पशुपतिनाथमा तयारी पूरा

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ ।

    सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए ।



    धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्व अध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।



    पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

    चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए । साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए ।

    चान्द्रमास अनुसार साउन महिना लागेदेखि नै विशेष गरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार