काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग आज छलफल गर्दैछन् । उनको निजी सचिवालयका अनुसार सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम तय भएको हो ।
सभामुख घिमिरेले आज सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् ।
एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ । आइतवारको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएका थिए ।
उनीहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिएका थिए । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको छ ।