Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, कोशी र मधेस प्रदेशमा हावाहुरी

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

आज राति भने देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077