काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसँग छलफल गर्दैछन् । घिमिरेले बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न लागेका हुन् ।
सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि पाँचपटक छलफल गरिसकेका छन् ।
सुन प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद राजस्व अनुसन्धान विभागले करिब सय किलो भनिएको तस्करीको सुन बरामद गरेको थियो । तर मंगलवार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।