Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् नेपालले टी-२० आईमा बनाएका रेकर्ड

काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।

नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३।१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो ।

यसक्रममा नेपालले कम्तिमा ७ वटा टी-२० आई क्रिकेटमा रेकर्ड बनएको छ । नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । यो नै टी-२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो ।

यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ बनाएको थियो । नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।

नेपालको नाममा अर्को रेकर्ड रह्यो, सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । यो नयाँ कीर्तिमान हो । यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो ।

मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले पनि विश्व कीर्तिमान बनाएका छन् । उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाए। उनले दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए । १३७ रनमा अविजित रहेका मल्ल टी-२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने क्रिकटरको सूचीमा पाँचौं नम्बरमा परे ।

त्यस्तै, मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन् । मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी-२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

आज ऐरीको नाममा अर्को पनि रेकर्ड दर्ज भयो । त्यो हो हाइएस्ट स्ट्राइक रेट । मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो । यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो ।

नेपालले मंगोलियालाई २७३ रनले हरायो । टी-२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077