काठमाडौँ । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि इलेक्ट्रिक सवारीसाधन आउन सुरु भएको छ ।
चोभार सुक्खा बन्दरगाहमा सुरु अवस्थामा कन्टेनराइज्ड कार्गो मात्र आउने गरेकामा गत असारबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको हो ।
हालसम्म साङ्ग्रिला मोटर्स प्रालि, जिओ अटोमोबाइल्स प्रालिलगायत अन्य कम्पनीका पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आइसकेका इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
आयातकर्ताले गत शनिबारदेखि इलेक्ट्रिक गाडीसमेत भन्सार जाँच पासका लागि चोभार ल्याउन सुरु गरेका छन् । नेपाल मोटर्स प्राइभेट लिमिटेडले चार वटा इलेक्ट्रिक कार कन्टेनरमा राखी चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । उक्त गाडीहरू भन्सार जाँच पासका लागि वीरगन्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो ।
चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास प्रक्रिया व्यवस्थित भएपछि सवारीसाधन चोभार आउन थालेका हुन् । आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताले गराएका छन् । गोरखापत्र दैनिकबाट