बैतडी । नेकपा एमालेको मध्यपहाडी लोकमार्गको महाकाली-मेची यात्रा बिहीबार बिहान बैतडीको झुलाघाटाबाट सुरु भएको छ । महाकाली किनार झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरेका हुन् ।
पदयात्रा कार्यक्रममा सहभागी हुन एमालेको केन्द्रीय पदाधिकारीसहित शीर्ष नेतृत्व बुधबार बेलुका नै बैतडी पुगेको थियो। बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओली बिहानै पार्टीको महाकाली मेची पदयात्राको उद्घाटनका लागि पुगेका थिए । कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।
‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्य पहाडी लोकमार्गको पदयात्रा सुरु गरेको हो । ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ ।
पदयात्राका क्रममा बैतडीको गोठालापानीमा बिहीबार आमसभाको आयोजना गरिएको छ । ओलीले सो सभालाई सम्बोधन गर्नेछन्।
पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ। त्यसपछि मंसिर १५मा डोटीको सिलगढी र मंसिर १६मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ। मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट गरिन लागिएको संकल्प यात्राको महाअभियानलाई महत्वकासाथ हेरिएको छ।