पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक कसैले देश बनाउन नसक्ने दाबी गरेका छन् ।
पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको बताए ।
अध्यक्ष ओलीले भने,'एमाले देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतिपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ । अहिलेका तत्कालिक समस्याहरूको समाधानमा पनि लाग्छौँ । अर्को कुरा एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि । हामीबाहेकका अरु त एकजुट भएर लागेकै छन् नि।'
अध्यक्ष ओलीले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकोसमेत दाबी गरे । राष्ट्रियताका सन्दर्भमा वर्तमान गठबन्धनले शिर निहुराउने गरेको पनि अध्यक्ष ओलीको आरोप छ ।
समृद्ध नेपाल, सुखी नेपाली बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन पनि मिसन-०८४ सुरु गरिएको अध्यक्ष ओलीले बताए ।
अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए ।