गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका मामलामा लज्जास्पद काम गर्न नहुने तर्क गरेका छन् ।
पार्टीले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्पयात्रा’ अन्तर्गत गोरखा आएका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘हिजो हाम्रा पुर्खाहरुले लडेर देश बचाए, लडेर देश बनाए। लिपुलेक, लिम्पियाधुरा, कालापानीको प्रश्न हाम्रा उच्चास्तरीय भेटघाट र संवादहरुमा उठ्दैन। त्योभन्दा गए गुज्रिएको अवस्था के हुन्छ ? त्योभन्दा देशप्रतिको बेइमानी के हुन्छ ? हामीले संयुक्त रुपमा बनाएको रिपोर्ट कार्यान्वयन गरौँ कि फाल्दिउँ, के गरौँ भनेर सोध्न पनि नसक्ने ? रिसाउँछन् जस्तो लागेको होला, त्यो पनि रिसाउँछन् कि भन्ने अनुमान होला। हामी राष्ट्रियताका मामलामा यस्तो कमजोर हुनुहुँदैन।’
चीनले दिएको सहयोग लिन पनि नेपाल डराउने गरेको अध्यक्ष ओलीको आरोप छ। नेपालको उत्पादन चीन पठाइदिए जति पनि किनिदिन्छौँ भन्दा पठाउन पनि डराएको, चीनमा उत्पादन गरेको बस्तु पठाइदिन्छौं भन्दा किन्न पनि डराएको आरोप उनको छ।
प्रजातान्त्रिक शासन व्यवस्थामा प्रतिष्पर्धा हुने भएकाले स्वच्छ प्रतिस्पर्धा गर्न अध्यक्ष ओलीको भनाइ छ। बुढीगण्डकी जलविद्युत आयोजना नेपाली आफैंले बनाउँछु भन्नु हाँस्यास्पद भएको उनले तर्क गरे।