Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् ।

संघीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु संघीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ ।

सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ, “स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित छ ।” संसद् सेवाको स्वायत्तताबारे खासगरी कर्मचारी वृत्तमा नै बहस हुने गरेकोबारे आफू जानकार भएको र अलग्गै सेवा सोचविचार गरेर नै गठन गरेको उनले उल्लेख गे ।

संसद्को महत्वपूर्ण काम सरकारको काम कारबाहीमाथि निगरानी गर्नु रहेको उल्लेख गर्दै सभामुख घिमिरेले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्य सम्पादन गर्न, संसदीय क्षमता र सामर्थ्य विकास गर्न संसद् सेवालाई अलग गरिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेपालको संविधानको धारा २०७ मा संघीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने व्यवस्था छ । निजामति सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो ।

विसं २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077