Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्न खोज्ने ३० जना पक्राउ

विराटनगर । नेकपा एमालेको मध्य पहाडी सङ्कल्प यात्रालाई अवरोध गर्न खोज्ने ३० जना पहिचानवादी पक्राउ परेका छन् ।

उदयपुर, खोटाङ, भोजपुर र धनकुटामा गरी ३० जना पक्राउ परेका हुन् । प्रहरीले आज बिहान मात्रै भोजपुरबाट ९ जनालाई पक्राउ गरेको छ ।

यसअघि मङ्सिर २६ गते प्रहरीले उदयपुर र खोटाङबाट पूर्वमन्त्री तथा नेता गोपाल किराँतीसहित १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा मिना राई, दिनेश राई, पनन राई, विदुर राई छन् ।

त्यस्तै खोटाङबाट पूर्व मन्त्री किरातीसहित राजेश राई, गन्धमान राई र विजय राई तथा उदिम राई पक्राउ परेका हुन् ।

बुधबार धनकुटाबाट पक्राउ पर्नेहरूमा प्रदेश पहिचान संयुक्त सङ्घर्ष समिति सङ्खुवासभाका संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कमलसि तिगेला, नेताहरू उमा चाम्लिङ, जितेन्द्र्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ रहेका छन् ।

उनीहरूलाई धनकुटा र भोजपुरको सीमामा पर्ने लेगुवाबाट पक्राउ गरिएको हो । एमालेको अभियान आज लेगुवाबाट धनकुटा प्रवेश गर्दैछ । टोलीले पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा गर्ने तयारी गरेको छ ।

उक्त यात्रालाई प्रभावित पार्न सक्ने भन्दै ती क्षेत्रमा सुरक्षा सतर्कता मजबुत बनाइएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । यस्तै भोजपुर सदरमुकाममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने पहिचान पक्षधर ९ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका थिए । भोजपुरमा पक्राउ पर्नेमा जनता समाजवादी पार्टी भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास राईलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077